एकैजनाले गराए ६ दुर्घटना भागेको कारलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिए
Advertisement
विराटनगर: एउटा दुर्घटना गराएर भाग्ने क्रममा विराटनगरमा मंगलबार साँझ एकैजनाले ६ वटा दुर्घटना गराएका छन्।
विराटनगर १२ देवकोटाचोकबाट हाटखोलातर्फ कार हाँकेर जाँदै गर्दा विराटनगर ९ का १९ वर्षीय बजेस सन्केतीले ६ वटा दुर्घटना गराएका हुन् ।
सन्केती नेपाली नागरिक भए पनि उनी लामो समयदेखि भारतमा बसेर आएका हुन्। खनालका अनुसार को १ त ४०७० नम्बरको कार हाँकेर अगाडि बढ्दै गर्दा उनले सुरुमा एउटा रिक्सालाई ठक्कर दिएका थिए । रिक्सालाई ठक्कर दिएर भाग्ने क्रममा उनले अन्य दुर्घटना गराएको प्रनि खनालले बताए।
‘ठक्कर दिएको रिक्सासहित चालक विराटनगर १२ का सत्ना राम लडेपछि उनी कार हुइँक्याएर अगाडि बढे', खनालले भने, ‘त्यसपछि लगातार चारवटा मोटरसाइकल र एउटा साइकललाई ठक्कर दिएको पाइयो।'
रिक्साचालक राम सामान्य घाइते छन्। रिक्सालाई ठक्कर दिएर अगाडि कार लिएर भाग्ने क्रममा उनले हाटखोलासम्म पुग्दा क्रमशः को १९ प ५०४६, को १ प ९५१६, को ७ प ९१९ र को ९ प १८१३ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
त्यसपछि उनले एउटा साइकललाई पनि ठक्कर दिएका थिए। विराटनगर १५ का चन्दन साहले चलाएको साइकललाई ठक्कर दिएलगत्तै एकजना पैदलयात्रुलाई ठक्कर दिए पनि चोट नलागेका कारण पैदलयात्रु सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर एकजना गम्भीर घाइते भएका छन्। को १९ प ५०४६ नम्बरको मोटरसाइकलका चालक विराटनगर ४ का ४५ वर्षीय सिन्धु कोइराला गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दायाँ कुमको हड्डी र करङ भाँचिएका कोइरालालाई उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा भर्ना गरिएको छ।
कोइरालाले चलाएको मोटरसाइकलको लेगार्ड पनि भाँचिएको छ।
दुर्घटनामा परेर ६ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। कारले ठक्कर दिँदा मोटरसाइकलको भाइजर फुट्नुका साथै ट्यांकी कुच्चिएको र लेगार्ड भाँचिएका छन्।
रिक्सा र साइकलमा समेत क्षति पुगेको छ। दुर्घटना गराउँदै भागेको कारलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले हाटखोलाबाट नियन्त्रणमा लिएको छ।
दुर्घटना गराएर भाग्ने चालकका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
‘दुर्घटनामा म कहिल्यै पनि परेको थिइनँ', प्रहरी नियन्त्रणमा रहेका चालक सन्केतीले भने, ‘दुर्घटना हुनासाथ आत्तिएर भागेंछु।'
सुरुमा दुर्घटना हुनासाथ डर लागेर भागेको र त्यसपछि कहाँकहाँ कस्ता दुर्घटना भए भन्ने आफूलाई थाहा नभएको उनले बताएका छन्।
दुर्घटना गराउँदै भागेको कारलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर तोडफोड गरेका छन्। स्थानीय बासिन्दाले अगाडि र पछाडिका सबै सिसा फुटाइदिएको कार प्रहरी नियन्त्रणमा छ।source:annapurnapost
Advertisement