प्रहरीसंग गृहमन्त्रीले यसो भन्न मिल्छ कि मिल्दैन ? तर, वामदेवले भनिदिए...
Advertisement

काठमाडौं, १९ असार गृहमन्त्री वामदेव गौतम र नेपाल प्रहरीको सम्बन्ध चिसिँदै गएको छ । गौतमले शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा आइजिपी उपेन्द्रकान्त अर्यालको चर्को आलोचना गरे र गुनासोका फेहरिस्त पनि सुनाए । उत्कृष्ट प्रहरीलाई पुरस्कार वितरण समारोहमा गौतमले आइजिपीले आफूलाई नटेरेको र प्रहरीले राम्रो काम गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा आइजिपी अर्याललगायत उच्च अधिकारी सहभागी थिए । एक महिला बलात्कारमा परेका घटनालाई राम्रोसँग अनुसन्धान गर्न गरेको आग्रह आइजिपी अर्याललगायतले बेवास्ता गरेको गृहमन्त्रीको गुनासो थियो । तैपनि, आफूले आइजिपीलाई कारबाही गर्न नचाहेको उनको भनाइ थियो । प्रहरीले आफूलाई टेर्नै छाडेको गृहमन्त्री गौतमको गुनासो थियो । ‘एक प्रहरी अधिकृतले तपाईंलाई होइन, हाकिमलाई मात्र स्यालुट गर्ने हो भने, त्यसपछि गलत्याइन्छ भन्ने लागेर म प्रहरी युनिटहरूमा नै जान्न । आफूलाई किन दाउमा राख्ने ?’ कार्यक्रममा गृहमन्त्री गौतमले भने । एसएसपी रमेश खरेलले आफूलाई भेट्न नआएको भन्दै विगतमा गृहमन्त्री गौतमले गुनासो गरेका थिए । त्यसको जवाफमा खरेलले ‘गृहमन्त्रीलाई भेट्नुपर्ने आफ्नो काम नभएको र आइजिपीलाई भेटे पुग्ने’ भन्दै भेट्न अस्वीकार गरेका थिए । सोही विषयलाई लिएर गौतमले खरेलको नाम नलिईकन आलोचना गरे । खरेलकै प्रसंगमा उनले ‘कुनै प्रहरी अधिकृतले आइजिपीको आलोचना गर्दा कारबाही हुने, तर आफ्नो आलोचना गर्दा कारबाही नभएको’ बताए । ‘यसरी कमान्ड कन्ट्रोल कसरी चल्छ ?’ उनले भने । करिब ३० मिनेट भाषण गरेका उनले सुरुमा नेपाल प्रहरीले अनुसन्धानमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे । पछि अधिकांश समय आलोचनामा खर्चिए । प्रहरीले राम्रो काम गर्न नसकेका कारण गुन्डागर्दी र अपराध बढेको उनले बताए । ‘गत वर्ष एक गुन्डा मारिँदा मैले त्यसलाई सहयोग गरेँ, तर पछिल्लो समय गुन्डागर्दी बढेको छ,’ उनको भनाइ थियो । त्यस्तै कतिपय प्रहरी पक्राउ गर्न जाँदा चोर–डाकासँगै मिल्ने गरेको आरोप पनि गृहमन्त्री गौतमले लगाए । गृहमन्त्रीले नै आफूमातहतको प्रहरीको चर्काे आलोचना गरेपछि प्रहरी अधिकारीहरूले आश्चर्य व्यक्त गरे । रानीबारी हत्याकाण्ड सुल्झाउने सिआइबीका डिआइजी हेमन्त मल्ल, डिएसपी भीम दाहाल तथा इन्स्पेक्टरद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई सम्मानार्थ उक्त कार्यक्रम आयोजना गरिएको थियो । मन्त्रिपरिषद्को तीन साताअघिको निर्णयअनुसार उनीहरूलाई नगद र कदरसहित सम्मानित गरियो । तर, पुरस्कारसम्बन्धी प्रावधानमा पनि गृहमन्त्री गौतमले असन्तुष्टि जनाए । पक्राउ गरेको आधारमा मात्र नभई अदालतले ठहर गरेको आधारमा प्रहरीको मूल्यांकन गर्नुपर्ने, पुरस्कार दिनुपर्ने र बढुवाको आधार बनाउनुपर्ने उनको भनाइ थियो । गृहमन्त्री नियुक्त भएलगत्तै गौतमले नेपाल प्रहरीको निकै प्रशंसा गरेका थिए । गत वर्ष मुस्कानसहितको प्रहरी सेवा कार्यक्रममा बोल्दै उनले ‘बर्दी लगाउनेहरू घुस खान्छन् भन्ने आफूलाई विश्वास नै नलाग्ने’ बताएका थिए । source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...