श्रीमानको नामै थाहा छैन, कहाँ खोज्ने, कसलाई सोध्ने
Advertisement

श्रीमानको नामै थाहा छैन, कहाँ खोज्ने, कसलाई सोध्ने १६ असार काठमाडौं - विवाह गर्ने बेलामा तपाईं विहे गर्ने मान्छेका बारेमा के के सोधखोज गर्नुहुन्छ ? धेरै कुरा थाहा नभएकोसँग त विहे नै गर्नुहुन्न होला । तर रामेछापको फुलासी–८ की शान्ता तामाङले असली नाम नै थाहा नभएकोसँग विहेवारी गर्नुभयो । अनि अहिले आइलाग्यो आपत ।


आर्थिक अभाव परेपछि १२ वर्षअघि काठमाडौं छिरेकी शान्ता तामाङ जोरपाटीको एउटा गलैंचा कारखानामा काम गर्नुहुन्थ्यो । त्यति बेलै भेट भयो तराईतिर घर बताउने अनिल तामाङसँग । अनि डेरा पनि दुईको एकै भयो ।‘एक दिन, दुई दिन गर्दा गर्दै नजिक भइयो । उसलाई कोही अनिल भनेर बोलाउँथे, कसैले गोरे पनि भन्थे । मैंले अनिल भनेर नै चिनें ।’ शान्ताले भन्नुभयो, ‘नजिक भएपछि उसको बारेमा धेरै धेरै सोधीखोजी गरिन ।’तर, ६ वर्ष नबित्दै त्यहीं कुराले शान्तालाई समस्यामा पार्‍यो । छोरी जन्मिसकेकी थिइन, अर्को सन्तान पेटमा । विहान काम गर्न निस्केका अनिल फर्केनन् ।

‘दुईचार दिन त तराइतिर घरमा पो भेटघाटका लागि गयो कि भन्ने भयो, तर पछि पो उसका साथीले अनिल त विदेश गयो भने ।’अनि शुरु भए शान्ताका दुःखका दिन । ‘खोज्न जाउँ कहाँ जाउँ, अनि सोधौं कोसँग ? न मलाई उसको घर थाहा थियो, न त कोही आफन्तसँग नै चिनाएको थियो ।’ उहाँले भन्नुभयो, ‘त्यति बेला त केही लागेको थिएन, अहिले पो सोच्दा त यसरी छोडेर भाग्नलाई पो रहेछ घर नलगेको रहेछ ।’श्रीमान छोडेर हिँडेपछि शान्ताको एउटा मात्रै विकल्प बन्यो माइतीको शरण लिने । अनि, दुई छोरी च्यापेर उहाँ रामेछापको फुलासी अर्थात माइती नै फर्किनुभयो । माइतीले पनि सहयोगै गरे ।

अहिले उहाँले फुलासी–८ को कालीदेवी उच्च मावि छेउमा होटल र पसल खोल्नुभएको छ । नागरिकता कसले बनाइदिने.. ? श्रीमानले छोडेर हिँडेपछि शान्तालाई हिजोआज नागरिकता कसले बनाइदेला भन्ने चिन्ता थपिएको छ । विहेअघि माइतीबाट नागरिकता बनाएको थिएन । ‘ऊ बेला नागरिकता के हो र भन्ने लाग्थ्यो । अहिले जे गर्न खोज्यो नागरिकता नै खोज्छन ।’ माइतीले नागरिकता बनाइदिन नमिल्ने सुनेपछि पीडा झनै थपिएको छ । नागरिकता नबनेपछि शान्ताका छोरीहरुको जन्मदर्ता पनि भएन ।


‘नागरिकताले धेरै बाटा बन्द भएका छन ।’ पीडाले आँखा भरिएका उहाँले भन्नुभयो, ‘नागरिकता नहँदा न केही सिप सिक्न पाएको छु, न त व्यावसाय चलाउने तालिम लिन नै । अबका बाटा अप्ठ्यारा देखेकी शान्ता तामाङको आग्रह छ, ‘म यही देशको नागरिक हुँ भनेर प्रमाणित गर्न के गर्नपर्छ, कसैले मलाई बाटो देखाइदिनुस् ।’

Advertisement



प्रतिक्रिया दिनुहोस्...