News
»
.बाहिर चर्को मुक्तिका कुरा गर्ने माओवादी नेताको घरमा चरम हिंसा .........
.बाहिर चर्को मुक्तिका कुरा गर्ने माओवादी नेताको घरमा चरम हिंसा .........
माओवादी जनयुद्ध समाजमा राजनीतिक चेतना जगाउने उच्च आन्दोलन मानिन्छ ।
तर, त्यही आन्दोलनमा जोडिएर नेतृत्व गरेका केही नेताहरुले आफूले हिजो गरेका ती कुराहरु आफैले उल्लंघन गर्दै गएको देखिन्छ । हरेक क्षेत्रमा जनतालाई अधिकार खोज्न सिकाएर धेरै सपना देखाएको माओवादी आन्दोलनमा लागेका नेताहरुले यसरी आफैले हिजो बोलेका कुराको उल्लंघन गरेको सुन्दा देख्दा आम मानिसमा झन् आक्रोश बढ्दै गएको देखिन्छ । यसको चरम नमूना बनेका छन् कुनै समयका चर्चित विद्यार्थी नेता एवं बैद्य माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने । उनले जनयुद्धकालमा धेरै पटक महिलामाथिका हिंसाका विरुद्ध चर्का चर्का भाषण गरे । पुरानो समाजका विकृतिमाथि धेरै प्रहार गरेर मान्छेलाई त्यसका विरुद्ध बन्दुक नै उचाल्न निकै उक्साए पनि । कतिलाई त उनले जनकारवाहीको भागिदार पनि उनले बनाए । तर, तिनै नेताले आफ्नो घरमा भने श्रीमतीमाथि चर्को मानसिक र यातना दिएको खुलासा भएको छ । युद्धकालमा जीवनसाथी गुमाएपछि अर्को विवाह गरेका माओवादी न्यौपानेले चरम हिंसाको शिकार बनाएर दोस्रो श्रीमतीलाई सम्बन्ध विच्छेद गर्न बाध्य बनाएर अहिले अर्को बिवाह गरे । तिनै लेखनाथले दिएको अनेक यातनाको पीडाबारे उनकी पूर्व जीवनसंगीनी आस्था घिमिरेसँग सौर्य दैनिकले कुराकानी गरी एक सामाग्री प्रकाशन गरेको छ । कुराकानीमा विद्यार्थी नेतृ समेत रहेकी आस्था घिमिरेले लेखनाथको व्यक्तित्व बचाइदिनका लागि आफूले लामो समय सहेर बसेको बताएकी छन् । साथै उनले लेखनाथसँग बिताएको आफ्नो समय पूरै कालो रहेको र उनीसँग विवाह गर्नु आफ्नो ठूलो गल्ती रहेको बताएकी छन् । प्रस्तुत छ सौर्य दैनिकले प्रकाशन गरेको उनको अनुभूती उनकै शब्दमाः नचाहँदा नचाहँदै पनि बेला बेला लेखनाथसँग मेरो नाम जोडिन्छ । जनयुद्धको समयदेखि आहिलेसम्म मैले पनि जीवनको महत्वपूर्ण समय गुमाएकी छु । लेखनाथको श्रीमती हुनुभन्दा पहिला नै मैले राजनीति गरेकी हुँ । तर, मेरो क्षमतालाई गुमनाम गर्ने कोशिस भयो । भविष्यका सपना सुनौला थिए । तर, टिक्न सकेनन् । विगत सम्झदा दुःख लाग्छ, अहिले खुसी छु, कसैको हिंसाको सिकार हुन नपरेकोमा । अबको दिन आफ्नै पहिचानमा बाँच्न चाहन्छु । जे सक्छु, आफ्नै बुताले गर्छु । लेखनाथ मकवानपुर पार्टी इन्चार्ज थिए । म त्यहीको पार्टीमा संगठित भएको कारण ०६१ मा पहिलोपटक उनीसँग भेट भयो । म उनलाई इमानदार कर्तव्यनिष्ट नेताको रूपमा हेर्थें । साच्चै उनि मैले बुझेको तीन वर्ष धेरै राम्रा थिए । नराम्रो केही देखिनँ । पार्टी खुला राजनीतिमा आएपछि म पनि विद्यार्थी राजनीति गर्न काठमाडौं आएँ । बस्ने ठाउँ नभएकोले उनको बहिनीसँगै बसे । लेखनाथलाई धेरै सम्मान गर्थें । लाग्थ्यो, उनले युद्धमा श्रीमती गुमाए, कति पीडा होला रु सकेसम्म उनको निजी काममा सहयोग गर्थें । उनीप्रति मात्र नेताको व्यवहार थियो, प्रेम थिएन । एक दिन बिहेको प्रस्ताव गरे, विनासोच ओके भनेँ । ०६३ फागुनमा बिहे भयो । परिवारसँग राम्रो सल्लाह पनि गरिनँ, थाहा पाएछन् । उमेर मिल्दैन हुँदैन भने तर मैले आफैं निर्णय लिएँ । ००० उनीसँग बितेका चार वर्षमा एक वर्ष मात्र राम्रोसँग बित्यो । बाँकी तीन वर्ष मानसिक तनावमा बिते । त्यो समय मेरा लागि कष्टकर बन्यो । धेरै मानसिक यातना भोगेँ मैले । जनयुद्धमा लाग्दा र पछिका समयमा महिला मुक्तिका धेरै कुरा गरेँ । गाउँमा घरेलु हिंसा र सामाजिक हिंसामा परेका महिलाको पक्षमा वकालत गरियो । सिंगो महिला मुक्तिका लागि युद्धमा होमिएको थिएँ । तर, आफैं प्रताडित भएँ, मैले भोगेको घरेलु हिंसा दर्दनाक छ । कहिलेकाहीँ सोच्थेँ, मैले रोजेको बाटो काँडैकाँडाले घेरिएको रहेछ । आफैं हिंसामा बस्नेले कसरी दिन सक्छ अरूलाई मुक्ति ? सहन सक्ने महिला भएको भए सम्बन्धविच्छेद हुँदैन थियो । मैले सहने कोसिस गरेँ । सकिनँ । थाकेँ । जीवन आँसुमा डुब्नका लागि होइन, केही गर्नका लागि हो भनेर मुक्ति खोजेँ । ००० कति दिन यसरी परमहिलासँग हिँड्लान भनेर तीन वर्ष अनेक कोशिस गरेँ । म चाहँदैन थिएँ, मेराकारण उनको राजनीतिक छवी धमिलियोस् । मसँग लेखनाथको स्तर मिल्दैन थियो । उमेर, राजनीतिक हैसियत, वैचारिक स्तर, जिम्मेवारी जस्ता कुरामा उनी मभन्दा धेरै माथि थिए । त्यो स्तरको नेतालाई बचाउनुपर्छ भनेर आफ्ना सबै कुरा त्यागेँ । पढाइ छोडेँ । महत्वपूर्ण राजनीतिक जिम्मेवारी त्यागेँ । उसका अगाडि म कमजोर जस्तै देखिएँ । चाहेको भए मैले आफ्नो बारेमा धेरै सोच्न सक्थेँ । तर, त्यो गरिनँ । उसको मानसिकता यसले सबै प्रकारको दमन सहेर बस्नुपर्छ भन्ने थियो । यो समाजको पुरुषवादी सोच होला, महिला आफ्ना पीडा सकेसम्म बाहिर ल्याउन चाहेनन् । तर, मैले सहन सकिन र बाहिर आएँ । माओवादीका धेरै नेता सांस्कृतिक विचलनको कारण कारबाहीमा परेका छन् । म लेखनाथले पनि त्यस्तो कारबाहीको दिन बहोर्न नपरोस् भन्ने ठान्थेँ । पार्टीको त्यो स्तरमा पुगेको नेतालाई जोगाउनुपर्छ भन्ने थियो ममा । पार्टीले त्यही स्तरको नेता पाउन धेरै लगानी गर्नुपर्छ भन्ने मैले बुझेको थिएँ । सकेसम्म आफू दुःखमा परेर पनि उसका विरुद्ध पार्टीमा उजुरी गरिन् । लेखनाथसँग बितेका चार वर्षलाई मेरो जीवनको कालो दिन भन्न चाहन्छु । लेखनाथबाट धेरै प्रताडित भएँ । त्यति बेला मैले भोगेको हिंसा अहिले सम्झन नपरे हुन्थ्यो भन्ने लाग्छ । श्रीमान् बेगर महिला बाँच्नै सक्दैन भन्ने मानसिकता बोक्नेहरूको अगाडि म एक्लै बाँचेर देखाउन चाहन्थेँ । महिला एक्लै बस्नै सक्दैनन्, पुरुषको सहारा अनिवार्य छ भन्ने कमजोर मानसिकतालाई चुनौति दिन चाहन्थेँ । अहिले म धेरै कुराले सन्तुष्ट छु । अहिले कसैको हिंसा सहनु परेको छैन । जीवनलाई अगाडि बढाउने उपाय खोज्दै छु । ००० छोरा जन्मिएको एक महिनापछि उनी बाहिर केटी लिएर हिँड्न थाले । पार्टी नेताहरूले मलाइ भन्थेँ, आस्थाजी, लेखनाथजीको बाहिर केटीहरूसँग सम्बन्ध छ, सम्झाउनु होला ।’ सम्झाउने प्रयास धेरै गरेँ । उनलाई मैले सम्झाएको मन पर्दैन थियो, सोच्थे मैले जे गरे पनि हुन्छ । त्यसैको विषयमा धेरै विवाद हुन्थ्यो । उनका कमजोरी थाहा पाएर पनि पार्टीमा भन्दैन थिएँ । सकेसम्म मिल्नुपर्छ भन्ने सोच थियो । जतिबेला मैले उनको बारेमा पार्टीमा कुरा गरेँ, त्यतिबेला धेरै ढिला भइसकेको थियो । मिल्नसक्ने अवस्था थिएन । त्यतिबेला पार्टीले पनि जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो गरेन । हामी कुनै हालतमा सँगै बस्न नसक्ने अवस्था पुगेका थियौँ । काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भयो । कानुनतः मैले चाहेको भए उनको सम्पत्ति दावा गर्न सक्थेँ तर, गरिनँ । जोसँग जीवन बाँच्ने भनेर बिहे गरियो उ त जीवनमा रहेन भने उसको सम्पत्ति के काम भन्ने लाग्यो । सम्बन्धविच्छेद हुँदा छोरा मसँग बस्ने र उसको लालनपालन, पढाइ र स्वास्थलगायते खर्च बाबुले बेहोर्ने फैसला भएको थियो । सुरुका दिनमा उनले फैसला कार्यान्वयन गरे तर केही समयपछि उनले आफ्नो दायित्व पूरा गरेनन् । म आर्थिक रूपमा कमजोर थिएँ र अहिले पनि मेरो अवस्था त्यही हो । पढाइ छाडेर पार्टीमा लागियो, कमाउने काम गरिएन । उनले छोराको खर्च नभरेपछि मलाई समस्या आयो । बाध्य भएर उनलाई भनेँ, छोरा तपाईंसँगै राख्नु । म चाहेको बेला भेट्न आउँछु । उनले हुन्छ भने । मौखिक सहमतिको आधारमा मैले छोरा उनलाई जिम्मा लगाएँ । ००० जब उनले तेस्रो बिहे गरे त्यसपछि उनको कुरा फेरियो । सर्त राखे, छोरा उनीसँग बस्ने भए मैले भेट्न नपाउने, भेट्न मन भए मैले राखेर उसको सबै खर्च पूरा गर्नुपर्ने । म अहिले छोरोको सबै खर्च धान्न सक्ने अवस्थामा छैन । छोरा जतिबेला पनि मसँग आउन तयार छ । सबै निर्णय भावनाले गर्न सकिँदैन रहेछ दिमागले सोचेर गर्नुपर्ने रहेछ । अहिले छोरा लिँदा म समस्यामा छु । आफैं केही गर्न सकेको छैन । उसलाई ल्याउँदा आमाछोरा दुवैको भविष्यमा संकट आउँछ । पढाउन पर्यो बिरामी हुँदा उपचार गर्नुपर्यो । त्यो सबै क्षमता मसँग छैन । सायद मेरो कमजोर आर्थिक अवस्था बुझेर उसले त्यो सर्त राखेको होला । नौ महिना कोखमा राखेर जन्माउने म, दुःखले हुर्काउने म तर, चाहेको बेला म छोरा भेट्न सक्दिनँ । उसलाई अँगालोमा लिन मन हुन्छ सक्दिनँ । छोरासँगै विगत सम्झेर रुन मन लाग्छ । भूकम्प आएपछि भेट्न गएँ । कोठाभित्र पस्न दिएन, छोरा आएर ढोका खोल्यो । पार्टीका नेता पनि उनको कोठामा थिए, उनीहरूको अगाडि मलाई अपमानित गर्ने काम भयो । छोरा चाहिने भए सधैँको लागि लैजा भने । मैले ल्याउन सकिनँ, छोरो झोला बोकेर निस्कियो मसँगै आउन । तर, मनमा गाँठो पारेर उसको भविष्यको लागि भनेर छोडेर आएँ । जति बेला म छोराको लालनपालन र पढाइ पूरा गर्न सक्ने हुनेछु त्यति बेला ल्याउँछु । अहिले पनि उसको व्यवस्था गर्न सक्ने भए ल्याउथेँ तर त्यो सम्भव छैन । म यति बेला राजनीतिक रूपमा जिम्मेवार छु । पार्टीको काठमाडौं जिल्ला कमिटीमा छु । अनेरास्ववियूको केन्द्रीय सचिवालयको जिम्मेवारी सम्हालेको छु । लेखनाथ र मेरो राजनीतिक विचार बाटो फरक छ । अब यो मूलुक परिवर्तन गर्ने विप्लवले नेतृत्व गरेको माओवादीले मात्र सक्छ । त्यसैले एमाओवादी ड्यास माओवादी हुँदै यहाँसम्म आएको छु । विगत बिर्सेर वर्तमान बनाउने प्रयासमा छु । यो २६ वर्षको उमेरमा आफूले गरेको कुनै कामको पछुतो छ भने लेखनाथसँग बिहे गरेकोमा छ । त्यो नै मेरो जीवनको सबैभन्दा ठूलो गल्ती थियो । उनीसँग नगाँसिएको भए जीवन फरह रूपमा अगाडि बढाउन सक्थेँ । source nonstopkhabar
प्रतिक्रिया दिनुहोस्...