.झगडा गर्ने दिमाग गयो, अब राष्ट्रिय सरकार : प्रचण्ड
Advertisement

२७ बैशाख, गोरखाबजार ।

एकीकृत (नेकपा)माओवादीका अध्यक्ष पुष्पकमल दाहालले झगडा गर्ने दिमाग कुनै राजनीतिक दलका नेतासँग नभएकाले अब संविधान निर्माणको वातावरण बन्दै गएको बताएका छन । तीन दलको प्रस्ताव र अन्य दलको समर्थनमा राष्ट्रिय सङ्कल्प प्रस्ताव पास भइसकेको भन्दै दाहालले अब संविधान निर्माणको सङ्केत देखापरेको उल्लेख गर्नु भयो ।


विनाशकारी भूकम्प गएपछिको अवस्थाबारे बुझ्न आज गोरखा आउनुभएका दाहालले भने, “संविधान निर्माण दोस्रो कुरा हो भनेर छोड्नु हुँदैन । अब झगडा गर्ने दिमाग गयो । यत्रो धनजनको क्षति भयो । संविधान र राहत सामग्री वितरण, पुनःस्थापनाको काम सँगसँगै गर्नुपर्छ ।” सरकार र प्रतिपक्ष भन्नुभन्दा पनि सबै दल एकजुट भएर देशलाई नयाँ दिशातर्फ अघि बढाउनुपर्ने दाहालको भनाइ छ । भूकम्प गएपछि देशलाई विकास गर्ने मौका आएको अध्यक्ष दाहालले बताए ।



उनले नेपाल बनाउने, विकास गर्नेतर्फ सबै दल मिलेर अघि बढ्नुपर्ने बताए । “आउने १५ वर्षभित्र नेपाललाई धेरै परिवर्तन, विकास गर्नुपर्छ” दाहालले भने, “संसारले हामीलाई हेरेको छ । हामी नयाँ सङ्कल्प गरेर अघि बढौँ । आफ्नो अर्को पार्टी नभनी एक भएर अघि बढौँ ।” एकले अर्कोलाई सहयोग गरेर विपद्को क्षणलाई समाधानतर्फ लैजानुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएका छन । राष्ट्रिय शक्तिहरु एक ठाउँमा उभिनुपर्ने भन्दै दाहालले राष्ट्रिय सरकार राष्ट्रिय एकताको रुप मात्रै भएको उल्लेख गरे ।

हिजो विवाद गरेका दलहरु एउटै सङ्कल्प प्रस्तावमा सहमत भएकाले अब संविधान पनि निर्माण हुने, स्थानीय चुनाव गर्नेतर्फ लाग्नुपर्ने बताए ।

“राष्ट्रिय सरकार नै चाहिन्छ भन्ने हाम्रो अडान होइन” उनले भने, “प्रधानमन्त्रीको नेतृत्वमा शक्तिशाली प्राधिकरण पनि गठन गरेर राष्ट्रिय एकता गर्न सकिन्छ । सरकार नै गठन गर्नुपर्छ भन्ने होइन ।”

दाहालले महाभूकम्पको केन्द्रविन्दु रहेको बारपाक गाउँ, लाप्राक र गुम्दा गाउँका भूकम्पपीडितसँग भेटघाट गरेका थिए । भूकम्पपीडितले अझै पनि राहत सामग्री नपाएको आफूसँग गुनासो गरेको भन्दै उनले त्रिपालसमेत नपाएका पीडितलाई तत्कालै राहत सामग्री पु-याउन स्थानीय प्रशासनलाई आग्रह गरे । source:nepali headline

Advertisement



प्रतिक्रिया दिनुहोस्...