"चौधरी ग्रुपले १० हजार घर बनाइदिने
Advertisement
काठमाडौं : चौधरी ग्रुपले भूकम्पपीडितका लागि १० हजार घर निर्माण गरिदिने घोषणा गरेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ग्रुपकै लगानीमा एक हजार र अन्य सस्थासँगको सहकार्यमा थप नौ हजार गरी १० हजार घर निर्माण गर्ने जानकारी दिएका हुन्।
कहाँकहाँ घर बनाउने भन्ने पक्का भइनसकेको भन्दै उनले हाल अति प्रभावित क्षेत्रको अध्यायन भइरहेको बताए। यी घरहरू दुई वर्षसम्म टिक्ने बताइएको छ। स्थानीय जनताको प्रतक्ष सहभागितामा बनाइने यी घरमा स्थानीय सामग्री तथा श्रम प्रयोग गरिने जानकारी गराइयो।
प्रतिघर औसतमा ७० हजार रुपैयाँ खर्च हुने यी घर दीर्घकालीन आवासका लागि भन्दा पनि दुईतीन वर्षसम्मका लागि हुन्। ग्रुपले गर्ने सहयोग सरकारकै समन्वयमा हुने जानकारी पनि चौधरीले दिए।
सरकारसँगको सहकार्यमा चौधरी ग्रुपले अति प्रभावित क्षेत्रमा स्थान पहिचान गरी घरहरू बनाउने उनले बताए। चौधरी ग्रुपले प्राइस वाटस हाउस कुपर्स-इन्डिया फाउन्डेसन र सोसल इन्भायरोमेन्ट एन्ड इकोलोजिकल डेभलपमेन्ट सोसाइटी (सिड्स) इन्डियासँग घर निर्माणका लागि सहकार्य गर्नेछ। घर निर्माण गरिदिन चीनको अलिवावाका प्रमुख ज्याक्माले समेत सघाउने प्रतिबद्धता जनाएको जानकारी चौधरीले दिए।
प्राइस वाटस हाउस कुपर्सले घर निर्माण गर्ने अति आवश्यक क्षेत्रको पहिचान गर्ने र ती क्षेत्रमा सिड्सले घर निर्माण थाल्ने जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो। सिड्सकी प्रतिनिधि सिभांगी चाभ्दाका अनुसार घर बनाउने स्थानको पहिचान भएपछि ट्रान्जिसनल घर ६ महिनाभित्र बनाइसक्ने बताइन्।
यसैगरी चौधरी ग्रुपले भूकम्पपीडितका लागि कुल २५ करोड रुपैयाँ खर्च गर्ने जानकारी पनि दिए। 'यसमध्ये तीन करोड रुपैयाँको राहत सामग्री वितरण गर्ने र बाँकी रकम पुनस्र्थापनामा खर्च गरिनेछ', उनले भने।
ग्रुपले घोषणा गरेको रकममध्ये पाँच करोड रुपैयाँ एक सय सामुदायिक प्राथमिक विद्यालय भवन निर्माणका लागि खर्च गर्ने जानकारी दिएको छ।source tajakhabar
Advertisement