भूपू गोर्खाका मागमा बेलायती महारानी गम्भीर
Advertisement
लन्डन । यतिखेर ब्रिटिश सेनामा गोर्खा भर्तीको दुईसय वर्ष गांठ कार्यक्रम बेलायत र नेपालमा हर्षोल्लासका साथ भइरहेको छ । सेवारत गोर्खाहरु विशेष समारोहमा सरिक छन् । बेग्लै खुशीयाली र उत्साह छ उनीहरुमा । तर, यही माहोलबीच भूपू गोर्खाहरुको एउटा घटक भने निरास छ र उनीहरु गोर्खा भर्तीको दुई सय वर्ष कार्यक्रम वहिष्कार गरिरहेका छन् । विशेषगरि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले कार्यक्रम वहिष्कारलाई तीव्रता दिएको हो ।
समितिले गत ४ जुन, २०१५ मा रानीलाई लेखेको पत्रको जवाफ दिंदै दरवारले रानीले समितिको पत्रमा उल्लेखित कुरालाई गम्भीर रुपमा लिएको जनाऊ दिएको हो । बकिंमहम प्यालेसकी सिनियर करेस्पोन्डेन्स् अफिसर सोनिया बोनिसीले
गत १८ जुन, २०१५ मा समितिलाई रानीको सन्देशसहित पत्र पठाउंदै रानीले यस मुद्दामा व्यक्तिगत हस्तक्षेप गर्न नमिलेपनि उक्त पत्र रक्षा मन्त्रीलाई पठाउन निर्देशन दिएको उल्लेख छ । रानी समक्ष पुर्याइएको मुद्दा रक्षा मन्त्रालयले पुनर्विचार गर्ने अपेक्षा दरबारको पत्रमा छ ।
समितिको पत्रमा ब्रिटिश रक्षा मन्त्रालयले दुई सय वर्ष देखि चरम अन्याय र अत्याचार गरेकाले खुशीयाली मनाउनुको सट्टा कार्यक्रम वहिष्कार गर्ने निर्णय गरिएको जनाइएको थियो ।
‘हाम्रा हजारौं अग्रज भोकभोकै मरे । बेलायत आएका भूपू बुढाबुढीको पनि हेरविचार गर्ने मान्छे नभएर बिजोग छ । कति नेपालबाट आउन चाहन्छन् तर सक्दैनन् । हामी आदिवासी जनजातीको राजनीतिक, धार्मिक, सामाजिक भावना ध्वस्त भयो । यस्तो अवस्थामा रक्षा मन्त्रालयले मनाइरहेको खुशीमा हामी सामेल हुन सकेनौं’, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले पत्रको सारांश व्याख्या गर्दै वीनेपालीसंग भने ।
हाल समिति नेपालको भूकम्प पीडितका लागि अर्थ संकलनमा व्यस्त छ । समितिले बेलायतका विभिन्न ७ शहरबाट करिब २० हजार पाउण्ड संकलन भइसकेको र हुने क्रम जारी रहेको जनाएको छ । यो मानवीय सहायता लगत्तै समितिले जुलाई देखि आफ्नो आन्दोलन पुनः सुचारु गर्ने जनाएको छ ।source taja khabar
Advertisement