एसएलसीमा धेरै नम्बर ल्याउने छोरोलाई मोटरसाइकल दिने बाबुआमा सावधान !
Advertisement
ललितपुर, असार ११ – शुक्रबार बिहान ललितपुरको इमाडोलमा तीव्र गतिमा रहेको एउटा मोटरसाइकलले ७५ वर्षका बृद्धलाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ग्वार्कोका सूर्यमान श्रेष्ठको उपचारको क्रममा ज्यान गयो । दुर्घटना भएलगत्तै ट्राफिक प्रहरीले घाइते बृद्धलाई अस्पताल पुर्यायो, अनि मोटरसाइकल चालकलाई नियन्त्रणमा लियो ।
मोटरसाइकलको लाइसेन्स नभएपनि उनी केही दिनदेखि दाजुको मोटरसाइकल लिएर सडकमा निस्कन थाले । ट्राफिक प्रहरीको आँखा छलेर मोटरसाइकल कुदाउने क्रममा शुक्रबार बिहान उनी फन्दामा परे । ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका उनीसँग लाइसेन्स छैन ।
‘एसएलसीमा राम्रो नम्बर ल्याएको खुशीमा आफुले मोटरसाइकल माग गरेको र अभिभावकले पनि स्वीकृति दिएकाले लाइसेन्स नभएपनि आफुले चलाउन थालेको उनले बताएका छन्’ ललितपुरका ट्राफिक प्रहरी प्रमुख सिताराम हाछेतुले उज्यालो अनलाइसँग भन्नुभयो, ‘ट्राफिकको आँखा छलेर तीव्र गतिमा चलाउनु एउटा गल्ती छँदैथियो, त्यसमाथि लाइसेन्स नै नभईकन सवारी चलाउनु झन् महागल्ती भयो ।’
एसएलसीको नतिजा सार्वजनिक भएलगत्तै सडकमा लाइसेन्सबिना मोटरसाइकल चलाउने युवाहरु बढ्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । एसएलसीमा राम्रो नम्बर ल्याउनेको पहिलो माग नै मोटरसाइकल हुने गरेको छ । छोराछोरीले राम्रो नम्बर ल्याएको देखेर फुरुँग भएका बाबुआमा र परिवारका सदस्यले पनि उनीहरुको माग सजिलै पूरा गरिदिन्छन् ।
‘तर एसएलसी पास हुँदैमा उ सबै कुरामा फिट हुन्छ भन्ने छैन, मोटरसाइकल र गाडी चलाउन लाइसेन्स परीक्षामा पास हुनुपर्छ’ ट्राफिक प्रहरी निरीक्षक हाछेतुले भन्नुभयो, ‘लाइसेन्स नभईकन सवारी चलाउँदा चालक र अरुलाई समेत खतरा हुने भएकाले बाबुआमाले सावधानी अपनाउनुपर्छ ।’
एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्दासम्मको बेला संवेदनशील हुने भएकाले यसबेला अभिभावकले विशेष ख्याल गर्नुपर्ने मनोविश्लेषकहरु पनि बताउँछन् । source taja khabar
Advertisement